२५ बैशाख २०८३, शुक्रबार
मालिकामा कृषकहरुसँग प्राङ्गारिक खेती विस्तार सम्बन्धि अन्तरक्रिया
मालिकामा कृषकहरुसँग प्राङ्गारिक खेती विस्तार सम्बन्धि अन्तरक्रिया
जनार्दन घिमिरे
गुल्मी, २४ वैशाख । कृषि ज्ञान केन्द्र गुल्मीले आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत मालिका गाउँपालिकामा प्राङ्गारिक खेती सम्बन्धी अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ । स्थानीय तहका जनप्रतिनिधि, अगुवा कृषक तथा सरोकारवालाको सहभागितामा आयोजित कार्यक्रममा प्राङ्गारिक खेतीको महत्व, उत्पादन विधि तथा चुनौतीबारे छलफल गरिएको थियो ।
कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धितालले दीगो कृषि प्रणालीका लागि प्राङ्गारिक खेती अपरिहार्य रहेको बताएका छन् । उनले प्राङ्गारिक विधिबाट खेती गर्ने तरिका, यसका फाइदा तथा रासायनिक मलको अत्यधिक प्रयोगबाट माटोको उर्वराशक्ति घट्नुका साथै यसले मानव स्वास्थ्यमा समेत पर्ने नकारात्मक प्रभावका विषयमा जानकारी गराएका थिए ।
मालिका गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालले प्राङ्गारिक खेतीलाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताउँदै कृषकलाई आवश्यक सहयोग तथा प्रोत्साहन उपलब्ध गराइने बताएका थिए । उनले स्थानीय उत्पादनको गुणस्तर वृद्धि र बजार विस्तारका लागि प्राङ्गारिक खेती महत्वपूर्ण हुने धारणा व्यक्त गरे ।
कार्यक्रममा कृषकहरूले कृषि उत्पादन तथा बजारीकरणका क्रममा भोग्दै आएका समस्या र जिज्ञासा समेत राखेका थिए । विशेषगरी बन्यजन्तुका कारण खेतीपातीमा क्षति पुग्दा हैरानी खेप्नु परेको भन्दै समस्या समाधानका लागि सम्बन्धित निकायले प्रभावकारी पहल गर्नुपर्ने कृषकहरुको भनाई थियो ।
सहभागीले उत्पादन बढाउने नाममा पछिल्लो समय प्राङ्गारिक खेतीप्रतिको आकर्षण घट्दै गएको भन्दै यसमा पुनः जोड दिनुपर्ने सुझाव दिएका थिए । पालिकामा कार्यक्रम लागू हुने वडाका वडाध्यक्षहरूले समेत प्राङ्गारिक खेती विस्तारले स्थानीय कृषिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै यसको सफल कार्यान्वयनका लागि सहकार्य आवश्यक रहेको बताए ।
कृषि ज्ञान केन्द्र गुल्मीका बरिष्ठ प्राविधिक अधिकृत केशवराज खनालका अनुसार कृषि ज्ञान केन्द्रको सहयोगमा मालिका गाउँपालिकाको वडा नं. १ देखि ५ सम्म प्राङ्गारिक खेती विस्तार गर्ने कार्यक्रम अनुसार कृषकहरुलाई जानकारी गराउनका लागि उक्त गोष्टी आयोजना गरिएको बताईएको छ ।

