१९ श्रावण २०८३, मंगलवार
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय सम्मान, तीन विधामा उत्कृष्ट अवार्ड
१९ साउन, बुटवल। शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले भारतको प्रतिष्ठित इण्डियन चेम्बर अफ कमर्स (आईसीसी) द्वारा आयोजित चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड्स–२०२६ मा विकास बैंकतर्फ ‘बेस्ट डेभलपमेन्ट बैंक अवार्ड’ सहित तीन प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको छ।
नयाँदिल्लीमा आयोजित समारोहमा बैंकले बेस्ट डेभलपमेन्ट बैंक, बेस्ट पर्फर्मेन्स अन प्रोफिटेबिलिटी तथा बेस्ट पर्फर्मेन्स अन ग्रोथ गरी तीन विधामा उत्कृष्टता हासिल गरेको हो। यस उपलब्धिलाई नेपालको बैंकिङ क्षेत्रले अन्तर्राष्ट्रिय स्तरमा प्राप्त गरेको महत्वपूर्ण सफलताका रूपमा हेरिएको छ।
एकैसाथ तीन विधामा उत्कृष्टता हासिल गर्नुले शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सुशासन, वित्तीय अनुशासन, नाफा आर्जन क्षमता र दिगो व्यावसायिक वृद्धिलाई अन्तर्राष्ट्रिय रूपमा स्थापित गरेको विश्लेषण गरिएको छ।
रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको यात्रा भने ग्रामीण क्षेत्रबाट सुरु भएको थियो। गुल्मी जिल्लामा स्थापना भएको रेसुङ्गा विकास बैंक र बुटवलमा स्थापना भएको शाइन डेभलपमेन्ट बैंक बीचको सफल मर्जरपछि अन्य वित्तीय संस्थाहरूलाई समेत समेट्दै बैंक राष्ट्रिय स्तरको विकास बैंकका रूपमा स्थापित भएको हो।
सामान्य ग्रामीण बैंकिङ सेवाबाट सुरु भएको संस्थाले आज देशभर आफ्नो सेवा विस्तार गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम चिनाउन सफल हुनु बैंकको दूरदृष्टि, सक्षम व्यवस्थापन, कर्मचारीहरूको समर्पण तथा ग्राहकहरूको विश्वासको प्रतिफलका रूपमा हेरिएको छ।
विशेष गरी गुल्मीमा जन्मिएको रेसुङ्गा विकास बैंकको विरासत आज अन्तर्राष्ट्रिय अवार्डसम्म पुगेको यो सफलता गुल्मीवासीका लागि मात्र होइन, समग्र नेपाली बैंकिङ क्षेत्रकै गौरवको विषय बनेको छ। ग्रामीण तहबाट सुरु भएको एउटा संस्थाले राष्ट्रिय पहिचान निर्माण गर्दै अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्नु नेपाली वित्तीय क्षेत्रका लागि प्रेरणादायी उदाहरण बनेको छ।


