निर्माण व्यवसायीको सहयोगमा तम्घासस्थान मन्दिरको अक्षयकोष वृद्धि, २७औँ साधारण सभा सम्पन्न

admin

२०८३ भाद्र ६ गते, शनिबार १६:०५ मा प्रकाशित

तम्घास, गुल्मी । तम्घासस्थान संयुक्त मन्दिर व्यवस्थापन समितिको २७औँ साधारण सभा विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ। साधारण सभाको अवसरमा मन्दिर सञ्चालन तथा धार्मिक गतिविधिमा आर्थिक समस्या देखिएको अवस्थामा निर्माण व्यवसायीहरूले उल्लेखनीय आर्थिक सहयोग गरेका छन्।

कार्यक्रममा निर्माण व्यवसायी सङ्घ गुल्मीका अध्यक्ष हरिकुमार श्रेष्ठले रु. १ लाख ५ हजार ५ सय ५५ को अक्षयकोष स्थापना गर्नुभएको छ। साथै उहाँले अन्य निर्माण व्यवसायीहरूसँग समेत समन्वय गरी मन्दिरका लागि आर्थिक सहयोग जुटाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको समितिले जनाएको छ।

यसैक्रममा सगुन कन्स्ट्रक्सनका सहदेव खड्काले वार्षिक पूजाका लागि रु. ३६ हजार, राजेश्वरी कन्स्ट्रक्सनका भागवत ज्ञवालीले रु. ३६ हजार, रञ्जित रञ्जन कन्स्ट्रक्सनका दुर्गा बोहराले रु. २४ हजार तथा तिरुपाते कन्स्ट्रक्सनका प्रवीण भण्डारीले रु. १२ हजार सहयोग गर्नुभएको छ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सहरी विकास, जलस्रोत, सिँचाइ तथा खानेपानी मन्त्रालयका मन्त्री माननीय डिल्लीराज भुसालले मन्दिर सञ्चालनमा सहयोग गर्ने निर्माण व्यवसायीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र विकासमा समुदाय तथा व्यवसायीहरूको सहयोग महत्वपूर्ण हुने बताउनुभयो।

यसैगरी, गुल्मी उद्योग वाणिज्य सङ्घका अध्यक्ष मृगेन्द्रप्रसाद श्रेष्ठले रु. १ लाख ४४ हजार ४ सय ४४ सहयोग प्रदान गर्नुभएको छ यो सँगै उहाँले प्रदान गर्नुभएको अक्षय कोषको रकम ५ लाख ५ हजार ५,५५ पुगेको छ।। उक्त रकमसँगै मन्दिरको अक्षयकोषमा उल्लेखनीय वृद्धि भएको छ।

कार्यक्रममै चन्द्रमणि भण्डारीले रु. ५ हजार ५ सय ५५ सहयोग गरी आजीवन सदस्यता ग्रहण गर्नुभएको छ।

साधारण सभाले आगामी श्रीकृष्ण जन्माष्टमी पर्वलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न विभिन्न उपसमितिहरूसमेत गठन गरेको छ। मन्दिरको नियमित सञ्चालन, धार्मिक गतिविधि तथा व्यवस्थापनसँग सम्बन्धित विभिन्न विषयमा छलफल गरी आवश्यक निर्णयहरू गरिएको जनाइएको छ।

साधारण सभाको अध्यक्षता मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अयोध्या प्रसाद श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा लुम्बिनी प्रदेशका मन्त्री माननीय डिल्लीराज भुसाल तथा विशेष अतिथिका रूपमा रेसुङ्गा नगरपालिका–१ का वडाध्यक्ष रामप्रसाद पन्थी सहभागी हुनुहुन्थ्यो।

कार्यक्रमको सञ्चालन समितिका सचिव ताराप्रसाद भुसालले गर्नुभएको थियो। कार्यक्रममा हरिकुमार श्रेष्ठ, मृगेन्द्रप्रसाद श्रेष्ठ, मोती खनाल, दिनपन्थी, रामचन्द्र पन्थी लगायतले मन्तव्य राख्दै मन्दिरको संरक्षण, विकास तथा धार्मिक गतिविधिलाई थप व्यवस्थित बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।

मन्दिरको आर्थिक व्यवस्थापनलाई दीर्घकालीन रूपमा सबल बनाउने उद्देश्यले अक्षयकोष निर्माण तथा विस्तारलाई प्राथमिकता दिइएको समितिले जनाएको छ। निर्माण व्यवसायी तथा उद्योगी–व्यवसायीबाट प्राप्त सहयोगले मन्दिर सञ्चालनमा थप सहजता पुग्ने अपेक्षा गरिएको छ।