३ असार २०८२, मंगलवार
शुसासनका लागि भ्रष्टाचार विरूद्ध अभियान चलाउनु पर्छ ः श्रेष्ठ

गुल्मी, ३० वैशाख । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं पुर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशमा शुसासन कायम गर्नको लागि भ्रष्टाचार बिरूद्ध अभियान चलाउन पर्ने बताउनु भएको छ । उहाँले सरकारले भ्रष्टाचार विरूद्वको अभियान नचलाउँदासम्म देशमा शुसासन संभव नहुने बताउनु भयो । प्रेस सेन्टर नेपाल गुल्मीले आज बिहान सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमका बोल्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले उक्त कुरा बताउनु भएको हो ।
उहाँले बर्तमान अबस्थामा राष्ट्रिय एकता बलियो बनाउनु, लोकतन्त्रको रक्षा गर्नु, शान्ति प्रक्रियाको बाँकि काम पुरा गरेर देशमा सामाजिक र आर्थिक परिवर्तनको रूपान्तरण गर्नु प्रमुख काम भएको बताउनु भयो । देशमा राजनीति अधिकार प्राप्त भए पनि नागरिकको जीवन फेर्ने गरि राजनीति परिवर्तन हुनुपर्ने उहाँको भनाई थियो । उहाँले देशमा सामाजिक एवं आर्थिक रूपान्तरण बिना विकास र समृद्धि प्राप्त हुन नसक्ने टिप्पणी गर्नु भयो ।
पार्टिको वरिष्ठ उपाध्यक्ष समेत रहनु भएका श्रेष्ठले माओवादी सरकारको पालामा जनताले गुणात्मक रूपमा जनताले बुझ्नेगरि कामहरु गरेको बताउनु भयो । भुटानी शरणार्थीदेखि ललिता निवाससम्म संलग्नहरुलाई कार्वाहीका लागि कानुनि दायरामा ल्याउने काम पनि माओवादी सरकारकै नेतृत्वमा गरिएको उहाँको दावी थियो ।
उहाँले वर्तमान सरकारले विधिको शासनलाई उल्लङ्घन गर्दै भष्ट्रचारीलाई जोगाउन बनेको आरोप समेत लगाउनु भयो । वर्तमान सरकार प्रति टिप्पणी गर्दै नेता श्रेष्ठले देशमा खेलबाड भैरहेको, सरकारमा ईमान र पारदर्शिता नदेखिएको र निरङकुश बन्दै गईरहेको आरोप लगाउनु भयो । उहाँले आफुहरु गठबन्धन सरकार भत्काउने खेलमा नलागेको बताउनु भयो ।
प्रतिगामी तत्वलाई चेतावनी गर्दै सुशासन र समृद्धिको दिशामा अगाडि बढ्ने श्रेष्ठले बताउनु भयो । “मिसन ८४ मा हामी एक्लै चुनाव लड्छौ र सरकार बनाउँछौं, त्यही मिशनलाई पुरा गर्न गाउँगाउँमा पुगेर अभियान सञ्चालन गर्न थालेका छौं,” उहाँले भन्नु भयो । उहाँले गर्भनर नियुक्तिमा राजनीतिकरण भएको भन्दै त्यो विषय देशको लागि पनि लज्जास्पद बनेको टिप्पणी गर्नु भएको थियो ।
सदरमुकाम तम्घासमा आजदेखि शुरु हुन लागेको वाईसिएल नेपाल गुल्मीको चौंथो जिल्ला सम्मेलनलाई सम्बोधन गर्न वरिष्ठ उपाध्यक्ष श्रेष्ठ मंगलबार बिहान नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाज मार्फत गुल्मी आईपुग्नु भएको थियो ।