१ चैत्र २०८२, आईतवार
रेसुङ्गा नगरपालिकाद्वारा गुल्मी अस्पताललाई एक करोड बढीकोस्वास्थ्य उपकरण प्रदान
गुल्मी, २३ साउन । रेसुङ्गा नगरपालिकाले गुल्मी अस्पताललाई एक करोड भन्दा बढी मूल्यको स्वास्थ्य उपकरणहरू प्रदान गरेको छ । गुल्मी अस्पतालमा मिर्गौलाको डायलाइसिस सेवालाई अझै प्रभावकारी बनाउन थप मेसिन प्रदान गरिएको हो ।
रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले गुल्मी अस्पतालका अध्यक्ष गोपाल पाण्डेयलाई तीन वटा डायलाइसिस मेसिन र एउटा बेहोस बनाउने मेसिन प्रदान गर्नुभएको छ । यस अघि नगरपालिकाले भारतीय दुतावाससँग समन्वय गरेर पाँच वटा उपकरण अस्पताललाई प्रदान गरिसकेको छ । जसका कारण डेढ बर्षदेखि जिल्लामा नियमित रूपमा मिर्गौलाको डायलाइसिस सेवा सञ्चालन गरिएको छ ।
गुल्मी अस्पतालबाट अहिलेसम्म १९ जना बिरामीहरूले मिर्गौलाको डायलाइसिस सेवा पाइरहेको नगर प्रमुख पन्थीले बताए । उहाँले आवश्यकता र सेवाको प्रभावकारीको हिसावले मेसिन थप गरिएको पन्थीको भनाई छ । उक्त मेसिन उपलब्ध गराएसँगै अबदेखि ४० जना बिरामीलाई सेवा प्रदान गर्न सकिने लक्ष्य रहेको अस्पताल विकास समिति अध्यक्ष गोपाल प्रसाद पाण्डेले बताउनु भएको छ ।
नगरपालिकाको नीति तथा कार्यक्रममा ‘गुल्मी अस्पताल मेरो अस्पताल’ भन्ने उद्घोष सहित जनशक्ति, उपकरण र व्यवस्थापनमा आवश्यक सहयोग र समन्वय गर्दै आएको नगर प्रमुख पन्थीले बताउनुभयो । उहाँले अस्पताल बाहेक दम तथा निमोनियाका बिरामीहरुलाई घरमै सेवा दिने उदेश्यले अक्सिजन कन्सनटेटर मेसिन प्रदान गरिएको समेत बताउन ुभयो । रेसुङ्गा नगरपालिकाले गुल्मी अस्पताललाई सुबिधा सम्पन्न बनाउँदै लैजाने बताईएको छ ।

