धार्मिक क्षेत्र रेसुङ्गा महापोखरीमा दिनभर श्रद्धालुहरुको घुइँचो

admin

२०८२ कार्तिक १६ गते, शनिबार १९:०४ मा प्रकाशित

धार्मिक क्षेत्र रेसुङ्गा महापोखरीमा दिनभर श्रद्धालुहरुको घुइँचो

 

जनार्दन घिमिरे

गुल्मी, १५ कात्तिक । हरिबोधिनी एकादशीको अवसरमा गुल्मीको पवित्र धार्मिक स्थल रेसुङ्गा क्षेत्रमा सनिबार दिनभर भक्तजनहरुको घुइँचो लागेकोे थियो । हरिबोधनी एकादशीको दिनमा धार्मिक स्थल रेसुङ्गाको महापोखरीमा स्नान र पुजाअर्चनाका लागि हजारौं भक्तजनहरु रेसुङ्गाको महापोखरी क्षेत्रमा पुगेका थिए ।

प्रत्यक वर्ष कात्तिक शुक्ल पक्षको एकादशीका दिन मनाईने यस पर्वमा भक्तजनहरु बिहानैदेखि स्नान, पुजाअर्चना र भगवान विष्णुको दर्शनका लागि रेसुङ्गा क्षेत्रमा रहेको महापोखरीमा जाने प्रचलन छ । एकादशीको दिन महापोखरीमा स्नान गरेपछि चारधाम जानु नपर्ने र व्यक्तिले आफुले अञ्जानमा गरेका संम्पुर्ण पापहरु समेत नष्ट भई पुण्य प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।

रेसुङ्गा क्षेत्रमा रहेको महापोखरीमा चारधामवाट ल्याएको जल मिसाईएको छ । भक्तजनहरु महापोखरीमा स्नान गरेसँगै पोखरीदेखि माथि रहेको यज्ञशाला र सिद्धस्थान मन्दिरमा पुगेर पुजाआजा गर्ने प्रचलन छ । महापोखरीमा स्नान गर्नका लागि यस पटक पनि ठूलो संख्यामा भक्तजनहरुको घुइँचो लागेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष शुरेसचन्द्र भुसालले बताउनुभयो ।

रेसुङ्गाको महापोखरीमा स्नान र पुजाअर्चनाका लागि गुल्मी लगायत अर्घाखाँची, पाल्पा, स्याङ्जा, वाग्लुङ्, प्यूठान, रुपन्देही लगायतका जिल्लाहरुबाट पनि श्रद्धालुहरुको बाक्लो उपस्थिति देखिएको थियो । यहाँ आजको दिन दिनभर धार्मिक मेला समेत लागेको थियो । मेलामा भजनकिर्तन, पाठपरायणदेखि पुजाअर्चना र देउसी‐भैलो लगायत विभिन्न बाजागाजाहरुले मेलामा थप रौनकता थपेको थियो ।

हरिबोधिनी एकादशीको अवसरमा जिल्लाको पवित्र तिर्थ स्थल रुद्रवेणी, रिडी र गण्डकी नदीमा पनि बिहानदेखि बेलुकी अबेरसम्म स्नान तथा पुजाआजाका लागि श्रद्धालुहरुको घुइँचो लागेको थियो । ठूला एकादशीको रुपमा चिनिने हरिबोधनी एकादशी पर्वलाई गुल्मीमा विशेष महत्वकासाथ मनाउने परम्परा छ ।