रेसुङ्गा नगरपालिकामा रोजगारी प्रवद्र्धन कार्यक्रम सञ्चालन

admin

२०८२ मंसिर १८ गते, बुधबार १९:०३ मा प्रकाशित

गुल्मी, १७ मङ्सिर । जिल्लाको रेसुङ्गा नगरपालिकामामा ‘वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवद्र्धन कार्यक्रम’ सञ्चालनहुने भएको छ । ग्रामीण लघु तथा साना उद्यमी र उद्यमहरुको सक्षमीकरण, स्तरीकरण र स्तरोन्नति गरी रोजगारी र आयस्तर वृद्धि गर्ने उद्देश्यले रेसुङ्गा नगरपालिका र दायित्व संस्थाको सहकार्यमा उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

रोजगारी प्रवद्र्धन कार्यक्रम अन्तर्गत रेसुङ्गा नगरपालिकामा उद्यम वृद्धिको प्रचुर सम्भावना रहेका उद्यमीहरुको लागि आवेदन आह्वान गरिएको छ । प्राप्त आवेदन मध्य, सोच र सीप, वित्त र लगानी अवस्था, नवप्रवर्तन, वृद्धिमुखी, उद्यमको वर्तमान अवस्था, व्यवसायिक योजना, बजारको अवस्था, नेतृत्व, सामुदायिक सक्रियता र प्रभावजस्ता मापदण्डका आधारमा ४० जना उद्यमीहरूको छनोट गरिने भएको छ । छनोट भएका ४० उद्यमीहरू मध्यबाट दोश्रो चरणमा उत्कृष्ट २० उद्यमीहरू छनोट गरिने बताइएको छ ।

उत्कृष्ट २० उद्यमीहरुलाई उद्यम नवप्रवर्तन शिविर मार्फत व्यवसायिक योजना सुदृढीकरण गरिनुका साथै उद्यम विकासपूरक साझेदारी प्रदान गरी बजार सम्बन्ध विस्तारमा सहयोग पुराईनेभएको छ । त्यसपछि उद्यमी र उद्यमको स्थलगत अनुगमन तथा मूल्याङ्कनबाट उत्कृष्ट दश उद्यमको छनोट गरिने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम पल्लीले जानकारी दिनुभयो ।

कार्यक्रममा रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले युवाहरूको विदेश पलायन रोकेर स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न उद्यम विकासलाई प्रमुख प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँले नगरपालिकामा कृषि, पशुपालन, पर्यटन तथा लघु उद्यममा प्रशस्त सम्भावना रहेको भन्दै यसबाट स्थानीयलाई स्वावलम्वी बनाउन थप योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

   दायित्वसँगको सहकार्यमा सञ्चालन भएको यस कार्यक्रमले रेसुङ्गा नगरभित्र उद्यमशीलता प्रवद्र्धन, नवप्रवर्तन र बजार पहुँच विस्तारमा महत्वपूर्ण योगदान पु¥याउने बताईएको छ । उक्त कार्यक्रम अन्तर्गत उद्यमीहरूको क्षमता अभिवृद्धि, व्यवसायिक योजना सुदृढीकरण, वित्त र बजारसँग जोड्ने प्रक्रिया तथा उत्कृष्ट उद्यम चयन गरी विशेष प्रविधि र बजार–सम्बन्धी सहयोग उपलब्ध गराइने संस्थाका वरिष्ठ कार्यक्रम प्रबन्धक सञ्जय पोख्रेलले जानकारी दिनुभयो ।

स्थानीय स्तरमै रोजगारी र आयवृद्धि गर्ने लक्ष्यसहित सुरु भएको यस कार्यक्रमले नगरपालिकालाई उद्यममैत्री नगरका रूपमा विकसित गर्ने अपेक्षा गरिएको छ ।